ट्रम्प पनि एउटा अनुदार शासक हुन्, तर फरक ढंगको र आफ्नो मात्र सोच्ने…- नोम चोम्स्की

यो सामाग्री सेयर गर्नुहोस

नेपालीलाई मेरो सन्देश : आलोचनात्मक सोच्नुस् जिम्मेवार व्यवहार गर्नुस। [नयाँ पत्रिकामार्फत साभार]

नवीन तिवारी, दक्षिण अफ्रिकी लेखक तथा पूर्वसांसद एन्ड्र्यु फेनिस्टाइनको ‘द स्याडो वल्र्ड’ पुस्तक पढ्दै जाँदा उनको लेखनले मलाई निकै छोयो । अचानक लाग्यो, यस्ता लेखकसँग सम्पर्क स्थापित गर्नुपर्ने हो । त्यसपछि केही दिन सामाजिक सञ्जालमा उनको खोजी मेरो दिनचर्या बन्न पुग्यो । प्रयासले सार्थकता पायो, उनीसँग मेरो संवाद चल्न थाल्यो । उनको पुस्तकको पछाडि ‘बल्र्ब’मा हाम्रो समयका विश्वमै प्रतिष्ठित र हस्तक्षेपकारी हस्ती नोम चोम्स्कीले लेखेका थिए ।

फेनिस्टाइनलाई लगत्तै मेरो प्रश्न थियो– के तपाईंले नोम चोम्स्कीलाई भेट्नुभएको छ ? उनले सन् २०१५ मा आफ्नो पुस्तकमा आधारित चलचित्र बनाउने क्रममा चोम्स्कीलाई भेटेर अन्तर्वार्ता लिएको बताए । मैले फेनिस्टाइनलाई नै सम्पर्क सूत्र बनाउने प्रयास गरेँ । प्रक्रिया लामो र झन्झटिलो थियो तर बलियो अपेक्षासहितको । अन्ततः चोम्स्कीसँग मेरो सम्पर्क स्थापित भयो । यसअघिसम्म मैले उनका महत्वपूर्ण मानिएका अधिकांंश पुस्तक पढिसकेको थिएँ । त्यसैले उनी मेरा लागि अनौठा र अलौकिक थिएनन् । उनी अद्भूत लेखनका धनी र साहसी हुन् भन्ने मेरो ठम्याइ उस्तै छ । उनै लेखकसँग साक्षात्कार गर्दा समानान्तर रूपमा मनमा डर र हौसलाको हुरी चलिरह्यो ।

मेरा कतिपय पत्रकार मित्रले यो अन्तर्वार्ताका लागि निकै हौसला प्रदान गरे । सेप्टेम्बर पहिलो साता मेलबाटै अन्तर्वार्ता सुरु भयो, अक्टोबरको मध्यमा पूरा भयो । अन्तर्वार्ताका क्रममा मैले पटक–पटक शिवप्रसाद तिवारी र नरेश ज्ञवालीसँग पनि लामो छलफल गरेँ । त्यस्तै चोम्स्कीको अन्तर्वार्ता प्रकाशित गर्नुपूर्व मैले त्यस्ता व्यक्तिसँग भेट्नु थियो, जसले चोम्स्कीलाई पनि पढेको होस् र अन्तर्वार्तामा आलोचनात्मक टिप्पणी गर्न सकोस्, यसका लागि मोहन मैनालीको नाम काफी थियो । म उहाँलाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।

अझै एउटा प्रश्न महत्वपूर्ण थियो– नेपाली पाठकका लागि नोम चोम्स्कीको अन्तर्वार्ताको महत्व र अर्थ के हो ? मैले चोम्स्कीलाई पढ्न थालेको सन् २००९ देखि हो । मैले पढेको उनको पहिलो पुस्तक ‘हेजिमोनी अर सर्वाइभल’ले मलाई प्रश्न गर्न सिकाएको हो । त्यसपछि बजारमा उपलब्ध भएसम्म उनका सबै पुस्तक पढ्ने प्रयास गरेँ । चोम्स्की मूलतः भाषाशास्त्री हुन् र आधुनिक भाषा विज्ञानका पिता भनेर चिनिन्छन् । उनले हार्वड विश्वविद्यालयबाट भाषा विज्ञानमा विद्यावारिधि गरेका हुन् ।

उनी विश्वविख्यात दार्शनिक, संज्ञानात्मक वैज्ञानिक, इतिहासकार तथा राजनीति र मिडियाका समालोचक हुन् । अझ अर्को शब्दमा भन्दा ‘अमेरिकी साम्राज्य’ का प्रखर आलोचक । उनी हाम्रो समकालीन विश्वका आलोचनात्मक चेत राख्ने प्रगतिशील ‘पब्लिक इन्टलेक्चुअल’ हुन् । चोम्स्की लेखक र दार्शनिक मात्र होइनन्, समाज बदल्न सक्रिय सामाजिक अभियन्ता पनि हुन् ।

सन् १९६० को दशकमा जतिवेला अमेरिका भियतनाम युद्धमा थियो, त्यसको विरोधमा उत्रिएका नागरिक अगुवामध्ये चोम्स्की पनि एक हुन् । उनको भाषामा बौद्धिकको उत्तरदायित्व हो– साँचो बोल्ने र झुट उजागर गर्ने । त्यसैले त उनी बौद्धिकको निष्क्रियता होइन, सक्रियताको पक्षमा आवाज उठाइरहन्छन् । उनका निकै चर्चामा रहेका पुस्तकमध्ये मिडियामाथि लेखिएको ‘म्यानुफ्याक्चरिङ कन्सेन्ट’, अमेरिकी विदेश नीतिका बारेमा लेखिएको ‘हेजिमोनी अर सार्वाइबल’, भियतनाम युद्धका बारेमा लेखिएको ‘फर रिजनस् अफ स्टेट’का साथै ‘फेल्ड स्टेट’, ‘हाउ द वल्र्ड वक्र्स’, ‘नेसेसरी इलुजन’सहित झन्डै एक सय पुस्तक प्रकाशित छन् ।

चोम्स्कीको लेखनको सबैभन्दा प्रभावकारी विषय के हो भने उनी प्रकाशनमा आएको तथ्यलाई भन्दा पनि अलिखित एवं स्थलगत अवलोकनबाट आएको तथ्यलाई ज्यादा महत्व दिन्छन् । विश्वमा जहाँ स्वयं सत्ताद्वारा आफ्नो अनुकूल विचार निर्माण र राज्यसत्ता टिकाउन सयौँ ‘फेक मिडिया’ परिचालन भइरहेका हुन्छन्, त्यस्तो समाजमा मानिस सत्य र तथ्यमा भन्दा योजनाबद्ध निर्माण गरिएको भाष्यमा आफ्नो मत जाहेर गर्न पुग्छन् ।

चोम्स्कीले समाजका ती भाष्यमाथि आलोचनात्मक चेत राख्न र चलिरहेको भाष्यमा विश्वास होइन, प्रश्न गर्न सिकाउ“छन्, उनलाई पछ्याउनुपर्ने प्रमुख कारण पनि यही हो । ‘मानिस त्यहाँ जानुपर्छ, जहाँ नजानु भनिएको छ । त्यो बोल्नुपर्छ, जुन नबोल्न भनिएको छ र त्यहा“ बस्नुपर्छ, जुन ठाउ“ छाड्न भनिएको छ’ भन्ने अमेरिकी विद्वान् हावर्ड जिनको कथनलाई व्यवहारमा प्रयोग गर्ने, शासकले रचेको स्तुतिगानलाई पाइलैपिच्छे प्रश्न गर्नेहरूको अग्रपंक्तिमा चोम्स्की आउँछन् ।

शासकले जहाँ पनि तर्कसंगत नागरिकभन्दा शासक र शक्तिका पुजारीद्वारा रचिएको भाष्यमा रमाउने ‘हनुमान’ खोजी गरिरहेको हुन्छ । हाम्रो जस्तो मुलुक, जहाँ आन्दोलनपश्चात शासकले ‘शान्ति’ आइसकेको भन्दै बारम्बार ‘शान्ति’ शब्द दोहो-याइरहन्छन्, त्यस्तो मुलुकको वैचारिक धार र बहसमा आएको ‘शान्ति’को वास्तविक अर्थ के हो ? बुझ्न नोम चोम्स्की पढ्नुपर्ने हुन्छ । चोम्स्की भन्छन्– ‘सबैजना शान्तिको कुरा गर्छन्, तर प्रश्न उठ्छ कस्तो शान्ति ? हिटलरले पनि त शान्तिको कुरा गर्थे ।’ अन्त्यमा म नोम चोम्स्कीलाई धन्यवाद भन्न चाहन्छु, जसले आफ्नो अमूल्य समय मलाई उपलब्ध गराउनुभयो ।

(अन्तर्वार्ताकार नवीन तिवारीले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातकोत्तर गरेका छन् । उनी अध्यापनरत छन् )

संसारका सबै सरकार दमनकारी छन्, तर तपाईं अमेरिकाप्रति कठोर देखिनुहुन्छ किन ?
यसका दुइटा कारण छन् । पहिलो, यो देश विश्वका यावत् घटनामा देखिने सबैभन्दा महत्वपूर्ण कर्ता हो । वास्तवमा दोस्रो विश्वयुद्धपछि सबैभन्दा शक्तिशाली देश हो अमेरिका । दोस्रो, यो मेरो देश हो र यसले जुन घटनामा हात हाल्छ, त्यसले म लगायत अन्य नागरिक त्यसको भागेदार मात्रै हुँदैनौँ कि त्यो कार्यलाई हामीले प्रभावित पनि पार्न सक्छौँ । यसमा अन्य देशलाई हेरेर हामी झनै स्पष्ट हुन सक्छौँ । हामी चिनियाँ बागीहरूले आफ्नो सरकारको विरोध गर्दा सम्मान गर्छौं तर उनीहरूले अमेरिकाको बारेमा के भन्लान् भन्ने विषयमा खासै महत्व दिँदैनौँ । समाज जति स्वतन्त्र हुन्छ, नागरिकको राज्यप्रति त्यति नै जिम्मेवारी बढेर जान्छ, र त्यसलाई असर पार्ने क्षमता पनि ।

तपाईंले आफ्नो लेखनमा ‘भ्यालु बेस्ड इन्टलेक्चुअल्स’लाई महत्व दिएको देखिन्छ किनभने उनीहरू राज्यको पद्धतिमाथि प्रश्न गर्छन्, तर तपाईंलाई लाग्दैन उनीहरू अन्ततः मिखायल बाकुनिनले भनेजस्तै ‘रेड ब्युरोक्रेसी’मा परिणत हुन्छन् भनेर ?
मलाई लाग्छ, केही होलान् । तर, सबै हुँदैनन् ।

‘अन्डस्र्टयान्डिङ पावर’मा तपाईंले ‘नुरेम्वर्ग ट्रायल’को सिद्धान्तअन्तर्गत युद्धपछिका सबै अमेरिकी राष्ट्रपतिलाई झुन्ड्याउनुपर्छ भन्नुभयो । आजको सन्दर्भमा यो कत्तिको सान्दर्भिक छ ? अथवा यसमा पुनर्विचार गर्ने सोचमा हुनुहुन्छ ?
स्मरण रहोस्, यो भनाइ ‘नुरेम्वर्ग’को सिद्धान्तका हकमा मात्रै भनेको हो, जबकि व्यवहारमा त्यस्तो हुन सकेन । मलाई लाग्छ त्यो भनाइ ठ्याक्कै ‘नुरेम्वर्गको सिद्धान्तअनुसार युद्धपछिका हरेक अमेरिकी राष्ट्रपतिलाई दोषी ठहर गर्नुपर्छ’ भन्ने हो ।

वास्तविक वाक्य यस्तो रहेछ ‘नुरेम्वर्ग ट्रायल’को सिद्धान्तअनुसार ‘युद्धपछिका सबै अमेरिकी राष्ट्रपति झुन्डिएको हुनुपर्ने हो ।’ यो भनाइलाई २१औँ शताब्दीमा अमेरिकी आतंकसँग जोडेर कसरी हेर्नुहुन्छ ?
२१औँ शताब्दीको सबैभन्दा निन्दनीय आतंक भनेको अमेरिका–बेलायत मिलेर इराकमा आक्रमण गर्नु र त्यसलाई ध्वस्त बनाउनु हो । सिद्धान्ततः यो नुरेम्वर्गमा व्याख्या गरे झैँ ‘ठूलो अन्तर्राष्ट्रिय अपराध’को राम्रो उदाहरण हो ।

इराक आक्रमणलगत्तै प्रकाशित तपाईंको पुस्तक ‘हेजिमोनी अर सर्भाइवल’मा अमेरिकी आक्रमणको सिकार हुन ‘देश कागजी बाघ हुनुपर्छ’ र ‘त्यो देश लगभग प्रतिरक्षाविहीन हुनुपर्छ’ भन्नुभएको छ, के यो कुरा सिरिया र लिबियाको हकमा पनि सान्दर्भिक हुन आउँछ ?
मलाई लाग्छ, तपाईंले सोधेका दुवै कुरा अहिले पनि उत्तिकै सान्दर्भिक छन् । सिरियाचाहिँ मैले माथि भनेको अवस्थामा स्पष्ट छैन । जब रुसीहरू त्यहाँ तानिए, तब सिरियनहरू लगभग प्रतिरक्षाविहीनजस्तै भए ।

तपाईंले कार्लमाक्र्सलाई पुँजीवादी दार्शनिक भन्दै ‘माक्र्सको समग्र लेखनमा करिब पाँच वाक्य मात्रै समाजवादबारे होलान्’ भन्नुभएको छ । तथापि धेरै मानिस समाजवाद–साम्यवाद भन्दै उनको दर्शनमा हिँडेको देखिन्छ नि ?
यसको उत्तर सरल छैन । कसैले माक्र्सको निश्चित सोच र विश्लेषण बोकेका छन् । अन्यले ‘समाजवाद’ वा ‘साम्यवाद’जस्ता शब्दावली बोकेका छन्, कुनै छुट्टै उद्देश्य प्राप्त गर्न । कसैले एडम स्मिथका ‘खुला बजार’ र ‘अदृश्य हात’का बारेमा यस्तै भन्न सक्छन्, जुन स्मिथको नियतभन्दा अलिक फरक तरिकाले प्रयोग भएका छन् ।

तपाईं आफ्नो लेखनमा रोमेरोलाई ‘सेन्टहुड’ दिनुपर्ने बताउनुहुन्छ जबकि सन् २०१६ मा मदर टेरेसाले यो पद सहजै पाइन् । त्यस्तो कुन अदृश्य राजनीतिक द्वन्द्व हो, जसले एउटालाई स्वीकार गर्छ र अर्कोलाई इन्कार ?
रोमेरो एक अविस्मरणीय र विचित्रका व्यक्ति थिए । उनलाई ‘सेन्टहुड’ दिनु भनेको जो उनको हत्याका लागि जिम्मेवार छन्, ती शक्तिशाली समूहका लागि यो निकै अभद्र कुरा हुन्छ । मदर टेरेसाका सन्दर्भमा भने त्यस्तो भएन । तथाप एउटा राम्रो कुरा के हो भने अन्ततः उनले ‘सेन्टहुड’ पाउने भए ।

तपाईंले क्रिस्टोफर कोलम्बसलाई ‘बिर्सन नसकिने नरसंहारक’ भन्नुभएको छ, जबकि अहिले पनि अमेरिकासहितका देशमा ‘कोलम्बस डे’ मनाइन्छ भने दक्षिण अमेरिकी देशमा आदिवासी प्रतिरोध दिवसका रूपमा मनाउने गरिन्छ, यसलाई तपाईंले कसरी हेर्नुभएको छ ?
यसलाई उदासी यथार्थलाई सामना गर्न तयार र त्यो यथार्थलाई आफ्नो निहित स्वार्थ पूरा गर्न इन्कार गर्ने दुई समूहबीचको भिन्नताको रूपमा लिन सकिन्छ ।

तपाईंको विचारमा सैद्धान्तिक रूपमा वामपन्थी र व्यावहारिक रूपमा उग्र दक्षिणपन्थीलाई कुन शब्द प्रयोग गर्न सकिन्छ ? जस्तो कि निकारागुआको ड्यानिअल ओर्टेगा अथवा मेरो देशको वर्तमान छद्म कम्युनिस्ट सरकार ?
सबै विषयलाई अति सामान्यीकरण गर्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्दैन । हरेक घटनालाई छुट्टाछुट्टै हेर्नु उचित होला ।

पहिचानको राजनीतिलाई कसरी हेर्नुहुन्छ ? यसले समाजलाई कता डो-याउँदै छ ?
पहिचानको विषयमा चर्चा नभएको एउटा महत्वपूर्ण विषय ‘श्वेत पुरुष (ह्वाइट मेल)को पहिचान’ हो । यसको इतिहास लामो छ, जुन आधुनिक साम्राज्यवादको उदयसम्म पुग्छ । जतिवेला अफ्रिकीलाई दास बनाउन र आदिवासी जनसमुदायलाई सिध्याउन कुनै साधन खोजिँदै थियो । यो वर्तमानसम्म आइपुग्दा समकालीन राजनीतिको एउटा महत्वपूर्ण पाटो हुन आइपुग्छ । उदाहरणका लागि ट्रम्पको विजयलाई हेर्न सकिन्छ । यसका साथै समाजमा ठूूलो पकड भएका श्वेत पुरुषले आफूलाई ‘नराम्रो व्यवहारमा परेको अल्पसंख्यक समुदाय’ भनेर गन्थन गरेको पनि देखिन्छ ।

पहिचानको राजनीतिक छलफलले अल्पसंख्यक समुदाय र दमित समूहतर्फ ध्यान दिन्छ, जो यो दमनकारी संसारमा स्थान खोज्छन् । उदाहरणका लागि अमेरिकामा रहेका आइरिसलाई लिन सकिन्छ । आप्रवासनको सुरुवाती दिनमा उनीहरूलाई नराम्रो व्यवहार गरिन्थ्यो, तर क्रमिक रूपमा स्थान पाउन थाले । विशेषगरी स्थानीय राजनीतिमा यो कथा धेरै समयसम्म अनुकरण गरियो । यो सकरात्मक र नकारात्मक पाटोसहितको जटिल विषय हो ।

‘फर रिजन्स अफ स्टेट’मा बोल्सेभिकवादलाई ‘व्यवहारमा माक्र्सवाद’ भन्नु गलत हो भन्नुभएको छ, जबकि तपाईंको लेखनमा बोल्सेभिकप्रति अदृश्य सहानुभूति फेला पार्न सकिन्छ, यसलाई अलिक स्पष्ट पारिदिनुस् न ।
‘अदृश्य सहानुभूति’प्रति प्रतिक्रिया दिन सक्दिनँ । बरु एकपटक तपाईंको अन्वेषणलाई पुनर्विचार गर्नुहोला ।

फेब्रुअरी क्रान्ति’को उपलब्धिलाई बोल्सेभिकको विजयले पूर्ण रूपमा ध्वस्त बनाएको कुरा तपाईंले र ड्यानिअल गुरिनले पनि आफ्नो पुस्तक ‘एनार्किज्म’मा दाबी गर्नुभएको छ । के त्यस क्रान्तिका कुनै सकारात्मक उपलब्धि थिएनन् ?
न त मैले न त गुरिनले नै ‘पूर्ण रूपमा ध्वस्त बनाएको’ भनेका छौँ । त्यसका केही सकारात्मक उपलब्धि पनि थिए । यसमा दिग्भ्रमित नभई सरल उत्तर दिन सकिँदैन । यो ठूलो प्रश्न हो ।यो अक्टोबर महिना अर्थात् ‘क्युवन मिसाइल क्राइसिस’को महिना । हरेक बहसमा ‘खु्रस्चेबले महादेशीय मिसाइल क्युवामा पठाउँदा कसरी संसार आणविक युद्धको संघारमा थियो’ भन्ने कोणबाट गरिन्छ । तर, कसैले पनि अमेरिकी राष्ट्रपति जोन एफ केनडीले क्युवाली संकटको ६ महिनाअघि बेइजिङलाई लक्षित गरेर ओकिनावामा मिसाइल पठाएको कुरा गर्दैनन् । के विश्व त्यतिवेला आणविक युद्धको संघारमा थिएन ? यसले त के प्रस्ट हुन्छ भने यो विचार निर्माणका लागि पश्चिमाले बनाएको भाष्य मात्रै थियो ।

यो धेरैजसो पश्चिमा भाष्य नै हो । तर, यी दुई सन्दर्भमा केही अन्तर छन् । अमेरिकाले रुसलाई तत्काल मिसाइल हटाउन बाध्य बनायो र त्यसैका लागि झन्डै युद्धको संघारमा पु-यायो । चिनियाँहरूले क्युवाली मिसाइल संकटका वेलाजस्तो कुनै प्रतिक्रिया दिएनन्, जसरी रुसीहरूले टर्कीमा रहेको अमेरिकी मिसाइलको झनै खतरनाक शृंखलामा कुनै प्रतिक्रिया दिएनन् । यो सबै विश्व शक्तिको वितरणको प्रतिबिम्बन हो ।

चलचित्र ‘-याम्पेज क्यापिटल पनिस्मेन्ट’का मुख्य पात्र विल विलेम्सनले ‘विश्वको अर्थतन्त्र धेरै अगाडि नै असफल भइसकेको छ, बैंकहरू त्यो प्रक्रिया ढिला गर्नका लागि मात्रै पैसा छाप्दै छन् भनेका छन् । ‘डोनर रिलिफ एक्ट ०१७’को सन्दर्भमा यसको कुनै अर्थ छ ?
अर्थ व्यवस्थामा समस्या छन्, तर यसलाई व्याख्या गर्न म चलचित्रमा आश्रित हुन्न ।

डोनाल्ड ट्रम्प र ‘कुक्लक्स क्लान’मा के समानता वा भिन्नता पाउनुहुन्छ ?
यो उत्तर दिन फेरि अर्को निबन्ध नै लेख्नुपर्ने हुन्छ । ‘कु क्लक्स क्लान’ राक्षस थिए, जसले आफूले गरेको काममा विश्वास गर्थे । ट्रम्प पनि एउटा अनुदार शासक हुन्, तर फरक ढंगको । आफ्नो मात्र सोच्ने ।

डोनाल्ड ट्रम्प आफ्नो आप्रवासनविरोधी आदेशका लागि आलोचित छन्, तर ओबामाको पालामा सबैभन्दा धेरै आप्रवासीलाई देश निकाला गरिएको थियो, तपाईंको विचारमा यो विषय किन चर्चामा आउँदैन ?
ट्रम्पको आप्रवासन नीति त्यति धेरै उग्र र निर्दयी भनेर आलोचित होइन, जसमा उनी रमाउँछन् । खासमा उनी बालबालिकालाई उनीहरूको परिवारबाट छुटाएकोमा आलोचित छन् ।

तपाईं एउटा अराजकतावादी भएको नाताले सामाजिक उत्तरदायित्व र उत्पादनका साधनलाई लिएर अराजकतावाद र साम्यवाद (स्टालिनको साम्यवादबाहेक) बीच के–कति भिन्नता छ ?
अन्तिम नतिजालाई सन्दर्भमा लिँदा माक्र्स र एंगेल्सको उद्देश्य अराजकतावादीसँग मिल्ने खालको थियो । तर, साधनको हकमा भने धेरै फरक ।

नोबेल शान्ति पुरस्कारलाई कसरी हेर्नुहुन्छ ?
जब मेनाहिम बेगिनले नोबेल शान्ति पुरस्कार पाए, तब बोइजमन इन्स्टिच्युटका एक भौतिकशास्त्रीले उनलाई तत्काल भौतिकशास्त्र पुरस्कारमा मनोनयन गरे । जब उनलाई किन दिने भनेर सोधियो, उनले भने ‘जब उनले नोबेल शान्ति पुरस्कार पाउन सक्छन् भने भौतिकशास्त्रको पुरस्कार पाउन किन नसक्नु ?’ त्यस्ता अवस्था छन्, जहाँ पुरस्कार पाउन योग्यले पाउँछन् र धेरै त्यस्ता अवस्था पनि छन्, जहाँ अयोग्य भएर पनि प्राप्त गर्छन् ।

नेपालमा तपाईंका धेरै पाठक छन्, जो तपार्इंजस्तै आलोचनात्मक चेत बोक्न चाहन्छन् उनीहरूलाई केही भन्न चाहनुहुन्छ ?
सुनेर खुसी लाग्यो । नेपालीहरूलाई मेरो उत्तम सन्देश के हो भने आलोचनात्मक रूपमा सोच्नुहोस् । जिम्मेवार बनेर प्रभावकारी रूपमा व्यवहार गर्नुहोस् ।

तपाईंलाई नेपालमा स्वागत गर्ने इच्छा छ, यता आउने कुनै योजना छ कि ?
निम्तोका लागि धेरै धन्यवाद । आशा गरौँ, कुनै दिन सम्भव हुनेछ ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

स्विस बैंंकमा २० जना नेपालीको खाता, कसको कति होला त जम्मा गरेको रकम? त्यो पनि अबैध?

January 17, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook77TwitterGoogle+Pinterest077sharesकाठमाण्डौँ – खोज पत्रकारहरुको अनुसन्धान अनुसार स्विस बैंकमा २० जना नेपालीको खाता रहेको खुलेको छ । दुई बर्ष अगाडी खोज पत्रकारहरुको अन्तराष्ट्रिय […Read More]

जताततै लापरबाही, ६ बर्स बित्यो तर बनेन पुल, कसको पालामा उद्घाटन भएको होला त सो पुल?

January 16, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook83TwitterGoogle+Pinterest083shares(फोटो नमुनाको लागि साभार गरिएको) परासी । नवलपरासी पश्चिम सरावल गाउँपालिकाको धनेवा खोलामा निर्माण सरु भएको ६ वर्ष वित्दा पनि पुल बन्न […Read More]

चीनले मकाउ-हङकङ र भारतले गोवा फिर्ता लिन हुने, नेपालले सिक्किम-दार्जिलिङ फिर्ता लिन किन नहुने ?

January 13, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook1.5kTwitterGoogle+Pinterest01.5ksharesसुगौली सन्धिमा गुमेको भूभाग फिर्ता माग गर्दै राष्ट्र संघमा एक लाख हस्ताक्षर बुझाइने ! ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिमा गुमेको जमीन […Read More]

आखिर कुन देश दियो त शरण यी युवतीलाई जसलाई परिवारले मार्ने भनेर योजना बनाएको थियो? यस्तो रहस्य

January 13, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook180TwitterGoogle+Pinterest0180sharesधर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले रहाफ […Read More]

पृथ्वी जयन्तीको अवसरमा पुर्वराजा ज्ञानेन्द्रको वक्तव्यले करोडौं नेपालीको आँसु झर्यो (पूर्णपाठसहित)

January 11, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook744TwitterGoogle+Pinterest0744sharesपूर्वराजा ज्ञानेन्द्र शाहले देशभन्दा ठूलो कुनै वाद वा विचार हुन नसक्ने बताएका छन् । उनले राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरङ्गना […Read More]

निर्मलाकी आमाले रगत दिएपछि बाबु आक्रोशित, ‘मलाई फसाउन खोज्छेस्?’

January 11, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook183TwitterGoogle+Pinterest0183sharesमहेन्द्रनगर : निर्मला पन्तको शरीरबाट संकलन गरिएको भजाइनल स्वाब उनकै  हो-होइन एकिन गर्न आमा दुर्गादेवी पन्तले रगतको नमुना दिएकी छन्। यही विषयमा […Read More]

पृथ्वी जयन्तीको अबसरमा शुक्रवार सार्वजनिक बिदा दिदै नेपालगन्ज नगरपालिका

January 10, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook257TwitterGoogle+Pinterest0257sharesपृथ्वी जयन्तीको अवसरमा शुक्रबार नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको छ। नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नगर […Read More]

दिल निशानीले राखेका स्टाटसमा “भाउजू स्याहार्छु” भनेको कसलाई होला त? हेर्नुहोस उनको स्टाटस सहित, केके भने त?

January 8, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook258TwitterGoogle+Pinterest0258sharesकाठमाडौं। देशका चर्चित व्यक्तिहरुको सम्बन्धविच्छेदपछि विवाद निस्किरहेका बेला पत्रकार दिन निशानी मगरले निकै विवादित पोस्ट गरेका छन् । उनले ३ दिनअघि ‘भाउजु […Read More]

जापानबाट आयो अर्को दुखद खवर, साथिको रूममा बस्न गएका एक नेपालीको यसरी भयो निधन

January 6, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook84TwitterGoogle+Pinterest084sharesटोकियो । जापानमा साथीको कोठामा बस्न गएका एक नेपालीको सुतेकै अवस्थामा निधन भएको छ। म्याग्दी जिल्ला स्थायी घर भई लामो समयदेखि जापानमा […Read More]

अत्यन्तै मन छुने श्रीमन र श्रीमतीको कारुणिक अधुरो कहानी, यस्तो कसैलाई नहोस, एकपटक पढ्नुहोस

January 6, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook348TwitterGoogle+Pinterest0348shares#मनछुने_श्रिमान_श्रिमती_को #अधुरो_प्रेम_कथा husband – छोरिको अनि आफ्नो राम्ररी ख्याल गर है .. wife – ए हजुर तपाईं किन परदेश जान खोज्नु भाछ […Read More]

Be the first to comment

Leave a Reply