कमल थापाको ‘गणतान्त्रिक’ छलाङ

यो सामाग्री सेयर गर्नुहोस

कमल थापाको ‘गणतान्त्रिक’ छलाङ

जनआन्दोलनका दोषीदेखि उपप्रधानमन्त्रीसम्म कमल थापाको सत्ता यात्रा 

हरिबहादुर थापा -पञ्चायतविरुद्ध २०४६ फागुन–चैतमा आन्दोलन चर्किरहँदा आन्दोलनकारीहरुले चार तस्वीरसहितको एउटा पर्चा छ्याप्छाप्ती पारेका थिए । ती तस्बिर चार शहीदका भने थिएनन् । तिनलाई आन्दोलनकारीले ‘चार महामण्डले’ को संज्ञा दिएका थिए । पञ्चायती शासन टिकाउन तिनीहरुको दमनकारी रुपसँगै ‘महामण्डले’ नामाकरण गरिएको थियो । ती पात्रहरु प्रजातन्त्रवादीको आँखामा ‘खलनायक’ मानिन्थे । तिनीहरु थिए– तत्कालीन प्रधानमन्त्री मरीचमान सिंह श्रेष्ठ, राष्ट्रिय पञ्चायत अनि पञ्चायत नीति तथा जाँचबुझ समितिका अध्यक्ष नवराज सुवेदी, गृहराज्यमन्त्री निरन्जन थापा र सञ्चार राज्यमन्त्री कमल थापा ।

आन्दोलनभर तिनलाई ‘फाँसी’ दिनुपर्ने नारा घन्कियो । जनआन्दोलन दबाउन केन्द्रदेखि गाउँसम्म ‘प्रतिकार समिति’ बनेको थियो । केन्द्रीय प्रतिकार समिति, जुन परशुनारायण चौधरीको संयोजकत्व निर्माण भएको थियो, त्यसका सक्रिय हस्ती थिए– कमल थापा । त्यतिखेर उनी सञ्चार राज्यमन्त्री थिए, उनले पञ्चायतइतर पत्रकारितामा पूर्णत: बन्देज लगाएका थिए । विरोधमा आवाज निकाल्नेको पत्रिका बन्द हुन्थ्यो, पत्रकारहरु जेल पुग्थे । तिनीहरु राज्यकोष दुरुपयोग गरी प्रजातन्त्रवादी तथा वामपन्थीहरुलाई जसरी पनि सिध्याउने षड्यन्त्रमा थिए, त्यही दृश्य हेर्दै तिनीहरुविरुद्ध आन्दोलनकारीले ‘फाँसी’को नारा घन्काएका थिए ।

ती चारमध्ये मरीचमानसिंहको प्रजातन्त्र आगमनसँगै राजनीतिमा खास उपस्थिति रहन सकेन । उनको केही वर्षअघि निधन भइसकेको छ । दोस्रा हस्ती सुवेदी पनि प्रजातान्त्रिक व्यवस्थासँगै हराए । निरन्जन थापा एकपटक, त्यो पनि शाही शासनमा उदाए र किनारा लागे ।

‘तर’, तिनीहरुमध्येकै एक पात्र कमल थापा हरेक कालखण्डमा जबर्जस्त उदाउँछन्, अनि सत्ता राजनीतिको केन्द्रविन्दुमा आइपुग्छन् । प्रजातन्त्र पुनस्र्थापनापछिको पहिलो निर्वाचनमा यिनी हैटौडामा पराजित भएका थिए । तर २०५१ को मध्यावधि चुनावमा सांसद बन्ने सौभाग्य मात्र प्राप्त भएन कि त्यो त्रिशंकूकालभरि ‘सत्ताको साँचो’ बोक्ने पात्रका रुपमा उनको ‘पहिचान’ बन्यो । मध्यावधि निर्वाचनमा कुनै पनि पार्टीको बहुमत आएन । एमालेको अल्पमतको सरकारलाई टिक्न नदिने रणनीतिमा कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई साथ लियो । थापा राप्रपाका प्रभावशाली सभासद् थिए ।

२०५२ भदौ २६ देखि २०५३ फागुनको अन्तिम दिनसम्म तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई आजित तुल्याउने पात्र बनेका थिए, कमल थापा । उनी मन्त्रिपरिषद्मै थिए तर बारम्बार विपक्षी एमालेको अविश्वासको प्रस्तावमा मोहित भएर देउवाको कुर्सी संकटमा पारिरहे । उतिबेला देउवा सरकारले छ महिना पूरा गर्न नपाउँदै सरकारविरुद्ध एमालेले अविश्वास प्रस्ताव ल्यायो । २०५२ चैत २ मा त्यो अविश्वास प्रस्तावमा मतदान हुनु केही दिनअघि मन्त्रीबाट राजीनामा दिँदै उनी एमालेको पक्षमा उभिन पुगे । तर त्यो प्रस्ताव असफल हुने अवस्था पैदा भएपछि फेरि सरकारकै पक्षमा मतदान गर्न आइपुगे ।

अझ विकृत दृश्य त २०५३ पुस ९ मा देखिएको थियो । पुसको चीसो मध्यरात यिनी संसदभित्र मन्त्रीकै फूलीमा नारा लगाइरहेको दृश्य संसदीय रेकर्डमा सुरक्षित हुनुपर्छ । मन्त्रीहरु आफ्नै सरकारविरुद्ध उभिएको त्यस्ता दृश्य संसदीय इतिहासमा बिरलै देख्न पाइन्छ । तर रमाइलो त विपक्षमा उभिएका कमल थापा फेरि त्यही सरकारमा मन्त्री निरन्तर रहन पुगे । विपक्षमा मतदान गर्न उत्साहित गर्ने व्यक्ति निरन्तर मन्त्री रहन इच्छुक हुनु भनेको ‘नैतिकता’ को कसीमा मापन गर्न नसकिने दृश्य हो ।

कमल थापाकै अनुहार हेर्दै मलिनो स्वरमा उनकै नेता लोकेन्द्रबहादुर चन्दले २०५४ असोज १८ को मध्यान्हमा संसदभित्र गम्भीर पीडा पोखेका थिए, जुन संसदीय राजनीतिमा ‘मुसा प्रवृत्ति’ प्रकरणले चिनिन्छ । सरकारविरुद्ध मतदान हुँदै थियो, आफ्नै मन्त्रिपरिषद्का मन्त्रीहरु र त्यो पनि आफ्नै पार्टीका सदस्य विपक्षमा मतदान गर्न गइरहेको दृश्यलाई चन्दले ‘मुसा प्रवृत्ति’ सँग तुलना गर्न बाध्य भए । त्यो दिन चन्दले भनेका थिए– ‘यदि मुसा पानीजहाजमा पसे भने त्यही जहाज प्वाल पार्न थाल्छन् । त्यो जहाज डुब्न थाल्यो भने सर्वप्रथम तिनीहरू जहाज छाडेर अर्काेमा हामफाल्छन्, अर्काे जहाजलाई पनि त्यसरी नै कोतरेर प्वाल पारी डुबाइदिन्छन् । यिनै मुसा बोक्न रहर गर्ने जहाजवालाहरू मेरो जहाज डुबेकामा खुसी नहुुनुहोस् । यी मुसालाई जहाजमा चढाएपछि कुनै दिन तपाईंहरूको जहाज पनि डुबाइदिनेछन् ।’

त्यतिबेला चन्दविरुद्ध अविश्वास प्रस्ताव आउँदा कमल थापा विदेश सयरमा थिए, परराष्ट्रमन्त्रीको हैसियतमा । उनी प्रस्तावमाथि मतदान हुनु एक दिनअघि राजधानी उत्रिए । सरकार र विपक्ष दुवैतिर उभिएका राप्रपाका निम्ति आकर्षणका पात्र थिए । विमानस्थलमा उनले आफू कतापट्टि भन्ने खुलाएनन् । तर मतदानका दिन आफ्नै सरकारविरुद्ध प्रस्तावमा मतदान गर्न उद्यत भएको दृश्यलाई चन्दले पचाउन सकेनन्, कमल थापातिरै फर्कदै ‘मुसा प्रवृत्ति’ बाट खुसी नहुन चन्दले सचेत गराएका थिए । चन्दपछि सूर्यबहादुर थापा सरकार बन्यो । त्यो सरकारमा पनि कमल मन्त्री पदमा निरन्तर रहे ।

राजनीतिमा उनको जगजगी २०५५ देखि २०५९ असोज १८ सम्म देखिएन । जब शेरबहादुुर देउवा सरकार विघटन गरी तत्कालीन राजा ज्ञानेन्द्र प्रत्यक्ष शासनको बाटोमा लागे, त्यसपछि पुराना पञ्च कमल थापाहरुकै दिन फर्कियो । २०५९ मा निर्मित लोकेन्द्रबहादुर चन्दको मन्त्रिपरिषद् होस् या २०६० मा निर्मित सूर्यबहादुर थापा सरकार दुवैमा उनी मन्त्री निरन्तर रहे । अझ २०६१ माघ–१९ प्रकरणसँगै शक्तिशाली गृहमन्त्री बन्दै नयाँ पार्टी राप्रपा–नेपाल जन्माउने हैसियतमा पुर्‍यायो– कमल थापालाई । राजाको शासनमा वरीयताक्रमका तेस्रा मन्त्री थिए ।

२०६२/२०६३ को दोस्रो जनआन्दोलनका फेरि ‘खलनायक’ मै दर्ज भए, कमल थापा । जसरी २०४६ जनआन्दोलन दबाउने दोषीको सूचीमा दर्ज भएका थिए, अझ २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनमा प्रमुख दोषीको सूचीमा परेका थिए । पछिल्लो आयोगसमक्ष थापाले भनेका थिए– ‘म गृहमन्त्री भएको अवस्थामा म स्वयंबाट भएका कार्यहरु पनि नैतीक रुपले जवाफदेही छु । त्यस अवधिमा भएका राम्रा/नराम्रा कामको जस र अपजस तत्कालीन सरकारमा निहित हुन्छ ।’ लोकतान्त्रिक आन्दोलन दमन गर्नकै निम्ति कमल थापाले २ करोड २४ लाख ७९ हजार रुपैयाँ खर्च गरेका थिए ।

दुवै आन्दोलनमा भएका दमनबारे छानविन गर्न गठित आयोगले ‘कारवाही’ गर्न सिफारिश गर्‍यो । ‘तर’ कहिल्यै उनका दोषहरुबारे छानविन गरी सजायँसम्म पुर्‍याएनन् । बरु, बार–बार राजनीतिको केन्दविन्दूमा दह्रो उपस्थित हुने अवसर मिलिरहेको छ– कमल थापालाई । पहिलो पटक उनलाई पाँच वर्ष कुर्नु परेको थियो भने दोस्रो पटक नौ वर्ष ।

अघिल्लो संविधानसभामा जम्मा ४ सिट मात्र यिनलाई प्राप्त भएको थियो । तर पछिल्लो निर्वाचनमा ‘हिन्दू धर्म’को आवरणमा उनी पुराना पञ्चहरुको पार्टी राप्रपालाई पछाडि पार्दै चौथो शक्तिमा उभिन सफल भए । लोकतान्त्रिक संविधानको पक्षपाति होइनन्, कमल थापा । यो संविधानको विपक्षमा मतदान गर्नेमा उनको पार्टी एक्लो हो । यद्यपि संविधानमा फट्के किनारामा भने उनको पार्टीका सभासद्हरुको हस्ताक्षर परेको छ । उनी अन्तिमसम्म राजतन्त्र र हिन्दू धर्मको पक्षमा उभिएका थिए । ‘तर’, अब उपप्रधानमन्त्रीको हैसियतमा संविधानको ‘सक्रिय कार्यान्वयन’ गर्नुपर्नेछ, विपक्षमा मतदान गरेको पार्टीका अध्यक्षले ।

त्यसो त, उनी छिद्रलाई प्वाल पारेर ‘अवसर’ मा परिणत गर्न माहिर राजनीतिक पात्र मानिन्छन् । उनले संविधानमा पहिला प्वाल पार्छन् कि सरकारमा ? त्यसका निम्ति प्रतीक्षा भने गर्नैपर्छ । पदीय हैसियत प्राप्तिका निम्ति उपलब्ध हुने झीनो मौका पनि गुमाउन चाहँदैनन्, त्यसैको परिणति हो– प्रतिकूल संविधान कार्यान्वयन गर्न पनि उत्साहित हुनुको कारण ।

पद प्राप्तिका लागि उनले अनेकन चोला बदले । तर एउटा मुद्दाका सवालमा भने मत परिवर्तन गरेका छैनन्, ‘राजतन्त्रका सवालमा ।’ उनी ‘खाँटी राजतन्त्र र एकदलीयतन्त्र’ का हिमायती हुन् । त्यो राजनीतिक दर्शनबाट यिनी कहिल्यै विचलित भएका छैनन्, संसदीय व्यवस्था हुँदाका बखत होस् या गणतन्त्र या २०७२ मा निर्मित सुधारिएको संसदीय व्यवस्था आउँदा होस् । अर्थात् उनी त्यो ‘स्कूलिङ’ बाट तलमाथि गरेका छैनन् ।

हेटौंडामा नौ कक्षामा पढ्दाका बखत उनी विद्यालयमा ‘राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल’ को अध्यक्ष बनेका थिए । त्यसपछि राजधानीमा अस्कलमा साइन्स पढ्दा र पछि राजनीतिशास्त्र अध्ययन गर्दाकै बखत त्यही विद्यार्थी संगठनको नेतृत्वकर्ता बन्न पुगे । पञ्चायत समर्थित विद्यार्थी मण्डलको काम बहुदलीय व्यवस्थामा आस्था राख्ने विद्यार्थीहरुलाई सक्नुथियो । जसका निम्ति पञ्चायत र दरबारले संरक्षण दिएको थियो ।

पञ्चायतभित्र ‘अनुदारवादी’ अझ ‘भूमिगत गिरोह’सँग अति निकटका पात्र ठानिन्थ्यो उनलाई । यिनी ठिटो उमेरमै २०३७ मा पञ्चायती संविधानमा तेस्रो संशोधन गर्न गठित मस्यौदा समितिको सदस्य बनेका थिए । त्यतिखेरका कर्मचारीहरुले आफ्नो स्मरण पुस्तकमा ‘कमल थापाकै कारण त्यतिखेरको संविधान संशोधन अनुदार’ बन्न पुगेको उल्लेख गरेका छन् । यिनी हुर्केको घर राणा शासकप्रति वफादार थियो । राणापछि त्यो बफादारिता राजतन्त्रतिर फर्कियो । कमल थापाका पिता कर्नेल क्षेत्रबहादुर थापा उतिबेला घोर कांग्रेसविरोधी मानिन्थे । यिनलाई राजा महेन्द्रले पुरस्कारस्वरुप २०१८ मा ओखलढुंगामा बडाहाकिम बनाएका थिए । त्यतिबेला कांग्रेस समर्थकविरुद्ध दमन तीव्र चलाएका थिए ।

शक्तिशाली व्यक्ति वा निकायप्रति वफादार रहने उनको ‘स्कूलिङ’ हो । आफू तल परेको अवस्थामा ज्यादै नम्र भाषा प्रयोग गर्छन्, ‘म निवेदन गरुँ…’ तर विपक्षी, आलोचक र कमजोरहरुलाई सिध्याउन कुनै कसर बाँकी राख्दैनन् । राजनीतिशास्त्रकै विद्यार्थी भएको हुँदा यिनी अत्यन्त चलाख छन्, र धूर्त पनि उत्तिकै । यिनमा फकाउने कला पनि उत्तिकै छ र प्रस्तुतिको शैली बलियो छ ।

यिनले खेल र राजनीति, दुवैलाई सँगसँगै हिँडाइरहेका छन् । उनी खेलमा जति अनुशासित हुन्छन्, राजनीतिमा उत्तिकै अनैतिक पनि । उनकै अनुहार हेर्दै सरकारको आयु लामो नदेख्नेहरुको संख्या पनि कम छैन । यसपालि उनले जहाज प्वाल पारी ‘मुसा प्रवृत्ति’ पुनरवृत्त गराउँछन् या गराउँदैनन् । राजनीतिक प्रतीक्षाकै विषय बन्नेछ ।

यो सामाग्री सेयर गर्नुहोस

अपडेट छुट्यो कि!

राष्ट्र र राष्ट्रियता जोगाउनको निमित्त भ्रस्टाचारीलाई खबरदारी सहित नयाँ गीत बोल्नुपर्छ जनता सार्बजनिक // भिडियो सहित

March 22, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook7TwitterGoogle+Pinterest07sharesसुजन बिश्वकर्मा भावुक चैत ७ काठमाडौ देशको बेथिति बारे जनताले आवाज उठाउनु पर्छ राष्ट्र र राष्ट्रियता जोगाउनको निमित्त भ्रस्टाचारीलाई खबरदारी गर्नुपर्छ हो […Read More]

इम्युनोलोजि सम्बन्धि उच्च प्रविधि भित्र्यायो ब्लुक्रस अस्पतालले

March 19, 2019 Taja Khawar 0

यो सामाग्री सेयर गर्नुहोसFacebook0TwitterGoogle+Pinterest00shares५ चैत, काठमाडौं। विगत २८ वर्षदेखि सञ्चालित त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालले इम्युनोलोजी (रोग प्रतिरोधक) सम्बन्धी उच्च प्रविधि भित्र्याएको छ । डाईग्नोटेक स्पोर्टको सहयकार्यमा […Read More]

लोकप्रिय सर्जक शंकर शर्माको लय सिर्जनामा रुँदै रुँदै बसे सार्बजनिक // भिडियो सहित

March 16, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook79TwitterGoogle+Pinterest079sharesचैत २ काठमाडौ सालको पात टपरी हुने गीतबाट सर्वाधिक चर्चामा आएका गायक कुलेन्द्र विश्वकर्मा र गायिका अनुजा पुडासैनीको आवाजमा सजिएको लोकदोहोरी गीत […Read More]

संचारकर्मी तथा सर्जक सुजन को स्वर र अभिनयमा ए मेरो साथी सार्बजनिक // भिडियो सहित

March 16, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook230TwitterGoogle+Pinterest0230sharesचैत २ काठमाडौ नेपाली गीतसंगीत र गीतसंगीत कर्मी हरुलाइ कला पत्रकारिता मार्फत सधैं सपोट गर्दै आएका संचारकर्मी तथा गायक सर्जक सुजन बिश्वकर्मा […Read More]

लोकप्रिय गायक मौसम गुरुङको आवाज र अभिनयमा हारे मैले सार्बजनिक / भिडियो सहित

March 15, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook144TwitterGoogle+Pinterest0144sharesपछिल्लो समय लोकदोहोरी क्षेत्र मा एक पछि अर्को आशलाग्दा गितहरुको आगमन भै नै रहेको छ । लगानी अनुसार आम्दानी हुँदै नभएनी लगानी […Read More]

सुशीला गौतमको पाहुना सार्बजनिक / हेर्नुहोस् भिडियो

March 2, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook149TwitterGoogle+Pinterest0149sharesबहुप्रतिभाकी धनि लोकप्रिय गायीका सुशिला गौतमको आज जन्म दिन । जन्म दिनको अवसरमा ताजा खवर को तर्फबाट गौतमलाई धेरै धेरै शुभकामना । […Read More]

लिकोप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ७ जनाकै निधन

February 27, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook0TwitterGoogle+Pinterest00shares१५ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । AS350 […Read More]

बाबु बोगटीले रिलिज गरे नयाँ गीत ‘टिकुली’ (भिडियो)

February 24, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook96TwitterGoogle+Pinterest096sharesचर्चित गायक तथा नायक बाबु बोगटीले आफ्नो नयाँ गीत ‘टिकुली’ सार्वजनिक गरेका छन्। शुक्रबार आफ्नै युट्यूब च्यानल बाबु बोगटी च्यानलबाट उनले गीत […Read More]

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विरूद्ध प्रहरीमा उजुरी के गरिन त्यस्तो ?

February 24, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook80TwitterGoogle+Pinterest080sharesबलिउड अभिनेत्री सोनाक्षी सिन्हा विरूद्ध प्रहरीमा उजुरी परेको छ। भारतिय राज्य उत्तर प्रदेशको मुरादावाद जिल्लामा सोनाक्षी सहित ५ जना विरूद्ध ठगीको मुद्दा […Read More]

नख्खु बम विस्फोटमा एनसेलका सुरक्षा गार्डको ‘मिलेमतो’ रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष

February 24, 2019 Krishna Acharya Roshani 0

यो सामाग्री सेयर गर्नुहोसFacebook36TwitterGoogle+Pinterest036sharesललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयलाई लक्षित गर्दै भएको बम विस्फोटमा एनसेलकै सुरक्षा गार्डको मिलेमतो भेटिएको प्रहरीले दाबी गरेको छ। अनुसन्धानका क्रममा एनसेलका सुरक्षा गार्डको […Read More]

Be the first to comment

Leave a Reply